घुस र धम्कीमार्फत जबर्जस्ती करणी मुद्दा मिलाउन खोज्दा सिन्धुपाल्चोकमा सात जना पक्राउ

सिन्धुपाल्चोक — जबर्जस्ती करणी जस्तो गम्भीर अपराधलाई पैसाको प्रलोभन र धम्कीमार्फत मिलाउन खोज्ने सात जना दलाललाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले विशेष सूचनाको आधारमा चौतारा साँगाचोकगढी नगरपालिका–१, स्याउलीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा जुगल गाउँपालिका–२ का ४५ वर्षीय श्रीकाजी दोङ, ५० वर्षीय माइला दोङ, २४ वर्षीय सुशील दोङ, ४२ वर्षीय मिकमार दोङ, ३१ वर्षीय विशाल दोङ, ३२ वर्षीय नेत्र दोङ र ५२ वर्षीय ङेमा छिरिङ लामा रहेका छन्।
प्रहरीका अनुसार २०८२ चैत १६ गते दर्ता भएको जबर्जस्ती करणी मुद्दाका प्रतिवादीसँग मिलेर यी व्यक्तिहरूले पीडित तथा उनका परिवारलाई मुद्दा फिर्ता लिन दबाब दिँदै मेलमिलाप गराउने प्रयास गरिरहेका थिए। उनीहरू अवैध आर्थिक लेनदेन गरिरहेको अवस्थामा प्रहरीले छापा मारेर पक्राउ गरेको हो।
कारबाहीका क्रममा प्रहरीले नगद ५ लाख १६ हजार ९३२ रुपैयाँ, ग्लोबल आइएमई बैंक र सिन्धु विकास बैंकका २ लाख ३५ हजार रुपैयाँ बराबरका चेक तथा ७ थान मोबाइल फोन बरामद गरेको छ।
राष्ट्रिय फौजदारी संहिता २०७४ को दफा २२७ (क) अनुसार जबर्जस्ती करणी जस्ता जघन्य अपराध मिलाउन खोज्नु आफैंमा दण्डनीय कसूर हो।
हाल पक्राउ परेकामाथि जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले यस्ता अपराधलाई कुनै पनि बहानामा मिलाउन खोज्नु गैरकानुनी भएको चेतावनी दिँदै, यसमा संलग्न जो कोहीलाई कडा कानुनी कारबाही गरिने जनाएको छ।
Credit: Ratopati